माघ महिनामा २० हजारभन्दा धेरैले लिए अनलाइनबाट पुनः श्रम स्वीकृति

 फागुन ११, २०७८

काठमाण्डौ

वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै कार्यालयमा उपस्थित नभई ४९ देशबाट २० हजार १८३ जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएका हुन् ।

अनलाइनबाट श्रम स्वीकृति लिनेमा वैदेशिक रोजगारीमा रहेका ९ सय ८८ जना महिला र १९ हजार १९५ जना पुरुष रहेका छन् ।

यसरी अनलाइनबाटै सेवा लिनेमा सबैभन्दा धेरै कतारबाट रहेका छन् । कतारबाट एक महिनाको अवधिमा ७ हजार २०२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कतारपछि सेवा लिनेको सङ्ख्या साउदीबाट धेरै छ ।

साउदीबाट ५ हजार १९७ जना पुरुष र ३८ जना महिला गरी ५ हजार २३५ जनाले अनलाइनबाटै पुनः श्रम स्वीकृति सेवा लिएका छन् । कतारपछि श्रम गन्तव्य देश यूएईबाट अनलाइनमार्फत श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै छ । यूएईबाट ४ हजार ८५२ जना अनलाइनबाट पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

खाडीकै देश कुवेतबाट एक हजार २५ जनाले, ओमानबाट ३०१ जनाले र मलेसियाबाट ५०५ जनाले अनलाइन पुनः श्रम स्वीकृति लिएका छन् ।

श्रम कार्यालय ताहाचलले गएको माघदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति प्रदान गरिरहेको छ । भौतिक रूपमा उपस्थित भएर पुनः श्रम स्वीकृति लिन पाइँदैन ।

बायोमेट्रिक नभएकाहरूको हकमा मात्र अहिले विभागले भौतिक उपस्थितिमा अनलाइन पुनः श्रम स्वीकृति प्रदान गरिरहेको छ । अनलाइनबाटै श्रम स्वीकृतिका लागि तिर्न पर्ने बिमा र कल्याणकारी कोषमा तिर्न पर्ने रकम तिर्न मिल्छ ।

तपाईंको प्रतिक्रिया