गठबन्धन बैठकले गरेका तीन निर्णयहरु

 बैशाख १६, २०७९


काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका सन्दर्भमा उम्मेदवारीसँग र तालमेलसँग सम्बन्धित विषयमा तीन वटा निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि जारी संयुक्त वक्तव्यमा पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय भएको छ।

यस्तै पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय पनि भएको छ ।यस्तै पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने तथा गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।

तपाईंको प्रतिक्रिया