न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

 असार २२, २०७९

काठमाण्डौं । न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–७ घर भएर बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दिया छिन् ।

पौडेलले सिन्धुली घर भएका नारायण बोगटीसहित ९ जनालाई न्यूजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार ९ जनाबाट ६३ लाख रुपैयाँ रकम असुलेर उनी सम्पर्कविहीन भएकी थिइन् ।

न्युजिल्याण्डका लागी प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भन्थिन् । उनले त्यहाँ १ लाख ७० हजारसम्म तलब हुन्छ भनेर उनले ‘न्युजिल्याण्ड सपना’ बेच्ने गरेकी थिइन् । असार २१ मा आरोपीलाई कपनस्थित निलोपुलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया