यी हुन तुलसीपुरका उत्कृष्ट किसान

 असार २४, २०७९

तुलसीपुर, असार । तुलसीपुर उपमहानगरपालिकाले पालिकाभित्रका किसानहरुलाई सम्मान गरिएको छ । पालिकाको पशु सेवा शाखाले एक कार्यक्रमको आयोजना गरेर उत्कृष्ट छानेर सम्मान गरेको हो । प्रत्येक वडाका एक/एक जना पशुपालक किसानहरुलाई सम्मान गरेको हो ।

आर्थिक समितिका संयोजक माधव वलीको अध्यक्षता एव नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि खड्काले अनुदानका नाममा गैह्र किसानहरुले प्राप्त गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेकाले त्यसलाई पालिकाको तर्फबाट अनुगमनमा कडाई गर्दै नियन्त्रण गरिने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले कृषकहरुलाई तालिमको व्यवस्थापन र बजारीकरणमा विशेष ध्यान दिइने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिृकत मोहन पौडेलले किसानहरुलाई आवेदनका आधारमा नभई पहिचाहनको आधारमा अनुदानको व्यवस्था गर्दा वास्तविक किसानहरुको समक्ष पुग्ने बताउनुभयो ।

बंगुरपालन, बाख्रा, गाई, भैसी पालक किसानहरुलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा सुशासन समितिका संयोजक धर्म वली, वडा नम्बर १ का वडाध्यक्ष हुमकान्त सापकोटा, किसान कुलप्रसाद भण्डारीले मन्तव्य व्यक्त गरेका थिए । पशु शाखाका प्रमुख डा. मनोज वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सुवास आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा यमबहादुर कुमाल, सूलोचना डाँगी, टीका पाण्डे, यमबहादुर घर्तीमगर, बकी डाँगी, लक्ष्मी राय, भेगप्रसाद भण्डारी, गोमा गौतम, रुक्मिणा केसी, रत्नबहादुर डाँगी, टेकबहादुर सुनार, दिलबहादुर खड्का, नारायणबहादुर खड्का, दलबहादुर वली, वासुदेव रेग्मी, विमल चौधरी, कविता खत्री, विकास केसी र लालसरी खड्कालाई सम्मान तथा प्रत्येकलाई पाँच हजारका दरले पुरस्कृत गरिएको हो ।

तपाईंको प्रतिक्रिया