नेपाल पहिलोपटक बलियो प्रतिद्वन्द्वी संग भिड्दै

 असार ०७, २०८०

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ । ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा  दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको हो ।

नेपाल र वेष्टइन्डिजबीचको खेल  हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ। यसअघि नेपालले टी–ट्वान्टी तथा एकदिवसीय फर्म्याटमा वेस्टइन्डिजसँग खेलेको थिएन । वेष्टइन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधि जितेको थियो।  १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधी जितेको थियो ।

इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गरि वेष्टइन्डिजच्याम्पियन बनेको थियो। त्यस्तै वेष्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–ट्वेन्टी विश्वकप जितेको थियो। सन् २०१२ मा श्रीलंकालाई हराएर विश्व विजेता बन्दा २०१६ मा इंग्ल्याण्डलाई हराएर च्याम्पियन बनेको थियो।  नेपालसँगै समूह ए घरेलु टोली जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन्।

नेपालले घरेलु राष्ट्रसँग खेल्दै प्रतियोगिता गरेको थियो।  नेपाल र जिम्बावेबीचको खेल १८ जुन अर्थात् असार ३ मा भएकोमा सो खेल नेपालले ८ विकेटले गुमाएको थियो। नेपालको दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको थियो। अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात् असार ९ मा खेल्नेछ। वेष्टइन्डिजले प्रतियोगितामा एक मात्र खेल खेलेको छ। पहिलो खेलमा वेष्टइन्डिजले अमेरिकालाई पराजित गरेको थियो। समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन्।

तपाईंको प्रतिक्रिया