नेदरल्यान्ड्स संग पराजित भएसगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

 असार ०९, २०८०

काठमाडौं  ।  नेपाल आइसिसी विश्वकप छनोट २०२३ मा आफ्नो समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै सुपर सिक्स हुँदै विश्वकप खेल्ने सपना समाप्त भएको छ । नेपाल चार मध्य तीन खेलमा हारका साथ समूह ए बाटै बाहिरिएको हो । जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ९० रन बनाए ।

टिमलाई जितको लागि १० रन चाहिँदा गुलशन झाले २७ औं ओभरको पहिलो बलमा बोल्ड आउट गरेपछि ओडिआई करिअरको पहिलो शतक बनाउने अवसर गुमाएका थिए । बास डि लिडे ३९ बलमा ६ चौकासहित ४१ रनमा नट आउट रहे । पहिलो विकेटका लागि ओपनर म्याक्स ओडाउड र विक्रमजित सिंहले १३ ओभरमा ८६ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । सन्दीपको बलमा एलबीडब्लू आउट हुनुअघि विक्रमजितले ४३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए । वेस्ली ब्यारी ३ रनमा दीपेन्द्रबाट आउट भए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ६ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा १ सय ६७ रनमा अल आउट भएको थियो । उक्त लक्ष्य जितको लागि पर्याप्त हुन सकेन । नेदरल्यान्ड्सका तीव्र गतिका बलरको शर्ट र बाउन्सर बलको सामना गर्न नसक्दा नेपाल सस्तैमा अल आउट भएको थियो । नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । सन्दीप लामिछाने ३३ बलमा ४ चौकासहित २७ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । खेलमा नेपालले सुरुवात देखीनै खराब प्रदर्शन गर्यो ।

नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बिकको तेस्रो ओभरको दोस्रो बलमा आसिफ इन साइट एज लागेर बोल्ड हुन पुगे । कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर विक्रमजित सिंहको १४ औं ओभरको पाँचौं बलमा कट खेल्ने धुनमा कुशल विकेटकिपर स्कर्ट एड्वार्ड्सबाट समातिन पुगे । कुशल आउट हुँदा नेपाल १४.५ ओभरमा ४६–२ को अवस्थामा थियो । कुशल र भीमले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । यस खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी नै त्यहिँ थियो ।

विक्रमजितकै बलमा आरिफ शेख ६ रनमा बिकबाट क्याच हुँदै पेभेलिएन फर्किएका थिए । भीम सार्की ५६ बलमा १ चौकासहित २२ रनमा क्याच आउट भए । भीम स्पिनर क्लेटन फ्लोयडको अफ साइटको बलमा शरिज अहमदबाट क्याच आउट हुन पुगेका थिए । पाँचौं विकेटका लागि रोहित र कुशल मल्लले २५ रनको साझेदारी गरेका थिए । कुशल मल्ल स्पिनर आर्यन दत्तको २६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिड अनमा तेजा निडामानुरुले १२ रनमा उत्कृष्ट क्याच लिए । उनले १९ बलमा १ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल पुन सर्ट बलमा आउट भए । तीव्र गतिका बलर भान बीकको ३२ औं ओभरको पाँचौं बलमा सट बलमा पुल खेल्ने धुनमा मिडविकेटमा विक्रमजित सिंहबाट क्याच आउट भए । रोहित वेस्टइन्डिजसँगको खेलमा पनि शर्ट बलकै शिकार बनेका थिए । भान बिकै शट बलमा दीपेन्द्र एज लागेर विकेटकिपरबाट १४ रनमा क्याच आउट भए । आठौं विकेटका लागि गुलशन र सन्दीपले ३२ रनको साझेदारी गरेका थिए । गुलशन बास डि लिडेको बलमा विकेटकिपर स्कटबाटै आउट भए । गुलशनले ३१ बलमा १५ रन बनाए । लिडे कै बलमा करण एक रनमा आउट भए ।

नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ९.३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । दक्षिण अफ्रिकामा अभ्यास खेलमा भान बिकले पाँच विकेट लिएका थिए । बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए । काउन्टीको कारण आफ्ना प्रमुख पहिलो रोजाईका बलर नभएपनि नेदरल्यान्ड्सका बलरले सानदार प्रदर्शन गरेका हुन् ।

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरियो । अमेरिका यसअघि नै लगातार तीन खेलमा हारका साथ बाहिरिएको थियो । समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले अव ७ औं देखी १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ । प्लेअफमा नेपालले समूह बी को पुछारको टोलीसँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया