फाइनलमा नेपालले दियो मलेसियालाई दुई सय ५३ रनको लक्ष्य

 असार १९, २०८०

काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा मंगलबार नेपालले आयोजक राष्ट्र मलेसियालाई दुई सय ५३ रनको लक्ष्य दिएको छ । ३५ ओभरको खेलमा मलेसियाका लागि यो ठुलो लक्ष्य हो ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले शतकीय पाली खेले । उनले टोलीका लागि अविजित एक सय १२ रनको योगदान गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेनले केवल ८९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए । निरजकुमार यादवले पनि ४७ रन बनाए । ओपनर ब्याट्सम्यान नीरजले ४९ बलको सामना गरी ६ चौका हिर्काएका थिए ।

सन्तोष यादवले २९ बलमा दुई चौकाको मद्दतले २६ रन जोडे । ओपनर ब्याट्सम्यान सूयान्सु कोइराला १८ रनमा पेभेलियन फर्किए भने अशोक धामीले ११ रन बनाए । नेपालले अतिरिक्त रूपमा २६ रन पाएको थियो । मलेसियाका बलर मुहम्मद अक्रमले तीन विकेट लिए ।

नेपालले सोमबार भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । आयोजक मलेसिया भने अर्को सेमिफाइनल खेलमा हङ्कङलाई ७८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यही प्रतियोगिताको समूहगत चरणको खेलमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । उक्त खेलमा विजयी भएपछि नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

तपाईंको प्रतिक्रिया