राष्ट्रियसभा बैठकमा एमालेको आज पनि अवरोध

 असार २२, २०८०

राष्ट्रियसभा बैठक शुक्रबार पनि अवरूद्ध भएको छ।

शुक्रबार पनि बैठक सुरू हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो।

बैठकको सुरूमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनु परेको बताइन्।

उनले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उनलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेकोे जिकिर समेत गरिन्।

देशकै सम्माननित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरूको शिर झुकेको सांसद घिमिरेको दाबी थियो।

उनले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले आज हाम्रो सामाजिक सञ्जालमात्रै होइन। पूर्व मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म निकै विरोध भइरहेको छ। र, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वाभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरूको शिर झुकेको छ। सम्माननीय अध्यक्षज्यू, यो भनाइले हाम्रो देशको सम्मानित संसद र सांसदहरूको समेत अपमान मात्र भएको छैन।’

उनले अघि भनिन्, ‘आफ्नै पदका लागि आत्मसमर्पण गर्ने प्रधानमन्त्रीद्वारा नेपाली जनतालाई शासित हुन दिन सक्दैनौं। त्यसैले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार गमाई सक्नु भएका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। राजीनामा नआएसम्म आजको कार्यसूची फेरि पनि अगाडि नबढाइयोस्। म सम्माननीय अध्यक्षज्यूको ध्यानाकर्षण गराउनु चाहन्छु।’

एमाले सांसदहरूले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारू गराउन पटकपटक आग्रह गरेका थिए। तर आफ्नो अडानबाट एमाले सांसदहरू पछि नहटेसम्म अध्यक्ष तिमिल्सिनाले असार २४ गते आइतबारसम्मका लागि सो बैठक स्थगित गरेका थिए।

तपाईंको प्रतिक्रिया