नेपाललाई १ सय ५८ रनको लक्ष्य

 साउन ०३, २०८०

तुलसीपुर । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ ले नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित पी सारा ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएई ४४ ओभरमा १ सय ५७ रनमै अलआउट भयो । उसका लागि लभप्रीत सिंहले ८२ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाए । यस्तै, इथान डिसुजाले १८, अश्वन्त वल्थापाले १६, जोश जियानीले १३ र आर्यन शर्माले १२ रन जोडे ।

यूएईलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै, श्याक ढकालले २, पवन सर्राफ र कुशल मल्लले १/१ विकेट लिए । यूएईविरुद्ध नेपालले प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । नेपालले आज आसिफ शेख, भीम सार्की, ललितनारायण राजवंशी र सोमपाल कामीलाई विश्राम दिएर अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी र श्याम ढकाललाई मौका दिएको हो ।

सेमिफाइनल दौडबाट बाहिरिसकेका नेपाल र यूएई जितका साथ सुखद अन्त्य गर्न चाहन्छन् । जारी प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ४ तथा दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटको हार बेहोरेको थियो । यस्तै, यूएई पाकिस्तानसँग १८४ रन तथा भारतसँग ८ विकेटले पराजित भयो ।

तपाईंको प्रतिक्रिया