भारत विश्वकपको सेमिफाइनलमा प्रबेश

 कार्तिक १६, २०८०

घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनल खेलेको हो । जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अल आउट भयो । विश्वकपमा सबैभन्दा कम रनमा २००३ मा श्रीलंकासँग क्यानडा ३६ रनमा अल अउट भएको थियो ।

श्रीलंकाका तीव्र गतिका बलर कसुन रजिथा १७ बलमा २ चौकासहित सर्वाधिक १४ रनको योगदान दिए । श्रीलंकाका ओपनर पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समाराविक्रमा, दुशान हेमान्था र दुश्मन्था चामिरा शून्यमा आउट भए । कुशल मेन्डिस र चरिथ असलंका १–१ रनमा आउट भए । चरिथले २४ बलमा १ रन बनाएका थिए । एन्जिलो म्याथ्युज २५ बला १ चौकासहित १२ रनमा शामीको बलमा बोल्ड आउट भए । त्यो समय श्रीलंका १३.१ ओभरमा २९–८ को अवस्थामा थियो । महेश थिक्सेना २३ बलमा २ चौकासहित १२ रनमा नट आउट रहे ।

भारतका मोहम्मद शामीले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शिराजले ७ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजा र जस्प्रित बुमराहले १-१ विकेट लिए । त्यसअघि वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो । भारतको जितमा तीन ब्याटरले अर्धशतक प्रहार गरे । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए । ओपनर शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिए ।

तपाईंको प्रतिक्रिया