नगरस्तरीय भलिबलको उपाधि वडा नं. ३ लाई

 कार्तिक २०, २०८०

लक्ष्मण बस्नेत, तुलसीपुर । तुलसीपुर नगरस्तरीय प्रथम नवयुथ कप पुरुष भलिबल प्रतियोगिता–२०८० को उपाधि तुलसीपुर–३ ले जितेको छ । तुलसीपुर–१ को आयोजना तथा नवयुथ क्लब तुलसीपुर–१ को समन्वयमा भमकेको छोटेमा आइतबार सम्पन्न फाइनल खेलमा वडा नं. १ लाई ३–२ अर्थात २५–१३, १९–२५, २२–२५, २५–१६, १५–७ को सेटमा पराजित गर्दै वडा नं. ३ ले उपाधि जितेको हो । विजेता टिमले ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उपविजेता बनेको वडा नं. १ ले २० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये ब्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी बन्नुभएका वडा नं. ३ का ओमप्रकाश मल्ललाई एक हजार रुपैयाँ र ट्रफी तथा वेष्ट स्पाइकर वडा नं. १ का दिनेश सुनार, वेष्ट सर्भर वडा नं. ३ का रमेश प्रकाश मल्ल र वेष्ट ब्लकर वडा नं. १ का टीकाराम वलीलाई ५÷५ सय रुपैयाँका दरले पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोह नवयुथ क्लबका अध्यक्ष बालकृष्ण धितालको अध्यक्षता तथा तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, तुलसीपुर–१ का वडासदस्य मेघराज सोनी, नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बासुदेव जैसीलगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार कोमल डिसीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया