घाइते म्याक्सवेलले चमत्कारिक रूपमा खेल जिताए

 कार्तिक २२, २०८०

काठमाडौं । ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानलाई तीन विकेटले हराएको छ। जितसँगै अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा पुगेको छ। जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रनमा अविजित रहे। म्याक्सवेल घाइते हुँदा सिंगल लिन नसके पनि चौका र छक्का हान्दै एक रुपमा खेल जिताएका हुन्। एक समय ९१ रनमा सात विकेट गुमाएको अष्ट्रेलियालाई म्याक्सवेलले अविश्वसनीय इनिङ खेलेका थिए । आठौं विकेटका लागि ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १ सय ७० बलमा २ सय २ रनको अविजित साझेदारी गरे। प्याट कमिन्स ६८ बलमा १२ रनमा अविजित रहे ।

ओपनर ट्रविस हेड नविन उल हकको दोस्रो ओभरको दोस्रो बलमै एज लागेर शून्यमा क्याच आउट भएका थिए। दोस्रो विकेटका लागि डेविड वार्नर र मिचेल मार्शले ३९ रनको साझेदारी गरेका थिए । मार्श नविन उल हकको बलमा २४ रनमा एलबीडब्लू आउट भए। मार्शले ११ बलमा २ चौका र २ छक्का हानेका थिए। त्यो समय अष्ट्रेलिया ५.४ ओभरमा ४३-२ को अवस्थामा थियो। नवौं ओभरको पहिलो बलमा ओमरजाईले वार्नरलाई १८ रनमा बोल्ड गरे। लगत्तै अर्को बलमा विकेटकिपर जोश इंग्लिस क्याच आउट भएपछि अष्ट्रेलिया ८.२ ओभरमा ४९-४ को अवस्थामा पुगेको थियो।

१५ औं ओभरको पहिलो बलमा मार्नस लाबुसेन १४ रनमा रन आउट भए। मार्कस स्टोइनिस ६ र मिचेल स्टार्क ३ रनमा राशिद खानको बलमा आउट भएपछि अष्ट्रेलिया १८.३ ओभरमा ९१-७ को अवस्थामा पुगेको थियो। त्यसपछि ग्लेन म्याक्सवेल र प्याट कमिन्सको जोडीले अविश्वसनीय साझेदारीमा जित दिलाएका थिए। अफगानिस्तानका राशिद खान, नविन उल हक र आजमतुल्लाह ओमरजाईले दुई-दुई विकेट लिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । अफगानिस्तानका इब्राहिम जद्रान १ सय ४३ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २९ रनमा नट आउट रहे। जद्रान विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका थिए ।

जद्रान बाहेक अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन्। ओपनर रहमानउल्लाह गुरबाज २५ बलमा २ चौकासहित २२, रहमात शाह ३०, कप्तान हश्मातुल्लाह शाहिदी २६ र आजमतुल्लाह ओमरजाई २२ रनमा आउट भए। ओमरजाईले १८ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए। राशिद खान १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा नट आउट रहे। छैटौं विकेटका लागि राशिद खान र जद्रानले २८ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

अष्ट्रेलिया मिचेल स्टार्कले ९ ओभरमा ७० रन खर्चिदा १ विकेट लिए। जोश हेजलवुडले ९ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए। अष्टेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरेको हो। भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ। दक्षिण अफ्रिका ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ। अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा छ। यी तीन टोली सेमिफाइनलमा पुगेका छन्। अब न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान मध्य एक टोली १० अंकका साथ सेमिफाइनल खेल्नेछन्। यी तीन टोलीको समान ८ अंक छ।

नेटरनरेटका कारण न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौं र अफगानिस्तान छैटौं स्थानमा छ। अफगानिस्तानले अन्तिम खेल दक्षिण अफ्रिकासँग, पाकिस्तानले इंग्ल्यान्ड र न्युजिल्यान्डले श्रीलंकासँग खेल्नेछन्।

तपाईंको प्रतिक्रिया