पाकिस्तान क्रिकेट टिमका कप्तान बाबरको राजीनामा

 कार्तिक ३०, २०८०

काठमाडौं | भारतमा जारी एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन्।

बुधबार बाबरले सामाजिक सञ्जालमार्फत् आफूले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तान पद त्याग गरेको घोषणा गरेका हुन्।

भारत विश्वकपमा खराब प्रदर्शन गरेपछि उनको चर्को आलोचना भएको थियो। विश्वकप क्रिकेटमा समूह चरणका ९ खेलमध्ये ४ मा मात्र विजयी भएको पाकिस्तान सेमिफाइनल पुग्न नसकेपछि कप्तानको राजीनामा आएको हो।

कप्तान बाबरले भारत विश्वकपका नौ खेलमा ३२० रन बनाएका थिए। बाबर सन् २०१९ मा पाकिस्तान क्रिकेटको कप्तान बनेका हुन्। एकदिवसीय ब्याटिङ वरियताको शीर्ष स्थानमा रहेका उनलाई यही महिना भारतका शुभमन गिलले पछि पारेका थिए।

समूह चरणका खेलमा भएको पाकिस्तानको प्रदर्शनपछि समर्थक र शुभेच्छुकले व्यापक असन्तुष्टि जनाएपछि बाबरको राजीनामा आएको अनुमान गरिएको छ।

तपाईंको प्रतिक्रिया