विश्वकप क्रिकेटको फाइनलमा भारत र अष्ट्रेलिया भिड्ने

 कार्तिक ३०, २०८०

काठमाडौं |  अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै  अस्ट्रेलिया फाइनल पुगेको हो। दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले १६ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा २१५ रन बनाउँदै पूरा गरेको हो।

अस्ट्रेलियाका लागि टेभिस हेडले ४८ बलको सामना गर्दै सर्वाधिक ६२ रन जोड्नुभयो। स्टीवन स्मिथ ३०, डेभिड वार्नर २९, जोस इंग्लिस २८ रन जोड्नुभयो। यो विश्वकपमा दोहोरो शतक प्रहार गर्दै चर्चामा रहेका ग्लेन म्याक्सवेल भने दक्षिण अफ्रिका विरुद्ध ५ बलको सामना गर्दै एक रन बनाएर आउट हुनुभयो।

भारतको इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई मध्यम स्तरको लक्ष्य दिएको थियो। दुई बल बाँकी हुँदा १० विकेटको क्षतिमा दक्षिण अफ्रिकाले २१२ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि डेबिड मिलरले शतकीय पारी खेल्नुभयो। उहाँले ११६ बलमा ५ छक्का र ८ चौकाको मद्दतमा १०१ रन जोड्नुभयो। सुरुमै धरापमा परेको दक्षिण अफ्रिकाको इनिङ्सलाई मिलरले सम्हाल्नुभएको थियो।  तर जितका लागि त्यो पर्याप्त भएन।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजी र तबरेज सम्सीले समान दुईदुई विकेट लिनुभयो भने कासिगो रबडा, केशव महाराज र एडेन मार्करमले एकएक विकेट हात पार्नुभयो।

पहिलो ब्याटिङ गरेको  दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कुमिन्सले समान तीन–तीन विकेट लिनुभएको थियो भने जोश हेजलवुड र टेभिस हेडले समान दुईदुई विकेट हात पार्नुभएको थियो।

 

पहिलो सेमिफाइनलमा  न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ । मंसिर ३ गते आइतबार हुने विश्वपको फाइनलमा अब अस्ट्रेलियाले भारतको सामना गर्नेछ ।

तपाईंको प्रतिक्रिया