पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

 मङि्सर १०, २०८०

काठमाडौं । पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो । आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिए ।

केन्द्रले सार्वजनिक गरेको रिक्त शिक्षक विवरणअनुसार प्राथमिक तहमा सबैभन्दा बढी ३ हजार १ सय ७९, निम्न माध्यामिक तहमा ७ सय ४४ र माध्यमिक तहमा ४ सय २ पद रिक्त छ । प्रदेशगत रूपमा सबैभन्दा बढी वागमती प्रदेशमा १ हजार २ सय ४२ दरबन्दी खाली हुने छ । जिल्ला शिक्षा समन्वय इकाइ काठमाडौैंले प्राविको दरबन्दी शून्य देखाएको छ भने निमावि ५, मावि २ मात्रै दरबन्दी रिक्त भएको विवरण केन्द्रमा पढाएको छ । सुदूरपश्चिममा सबैभन्दा कम ३ सय ३१ शिक्षक पद रिक्त हुने देखिएको छ ।

कोशीमा ९ सय ९३, मधेसमा ३ सय ४९, गण्डकीमा ७ सय ७०, लुम्बिनीमा ५ सय ६४ र कर्णालीमा १ सय ७६ दरबन्दी रिक्त हुने भएको छ । केन्द्रका अनुसार माध्यमिक तहमा नेपालीमा ६३, अंग्रेजी ७०, गणित ८७, विज्ञानमा १ सय ९ र सामाजिकमा ४७ जनाको दरबन्दी खाली हुने निश्चित भएको छ । त्यस्तै, निमावितर्फ नेपालीमा १ सय १३, अंग्रेजी १ सय ६४, गणितको १७, विज्ञान १ सय ६९ र सामाजिक १ सय १९ दरबन्दी खाली हुनेभएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया