त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा

 मङि्सर १४, २०८०

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्मी क्लबले बिहीबार पोखरा रंगशालामा खेलिएको पहिलो सेमिफाइनल खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशलाई चार विकेटले हरायो ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको बागमती प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले १५ ओभरमै ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । आर्मी क्लबले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्‍यो । आर्मी क्लबको जितमा भीम सार्कीले ३९ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका भीमले ३५ बलमा पाँच चौका पनि प्रहार गरेका थिए । कुशल मल्लले पनि टोलीको खातामा २७ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान कुशलले केवल आठ बलमा चार छक्का हिर्काएका थिए । त्यसअघि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले २५ रन बनाएका थिए । उनले केवल १२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी टोलीका कप्तान पनि हुन् ।

सोमपाल कामी १५ रनमा अविजित रहे । उनले १४ बलको सामना गरी एक छक्का हिर्काएका थिए । राजेश पुलामी एक रनमा अविजित रहे । ओपनर सन्तोष कार्कीले सात रन जोडे । आर्मी क्लबले अतिरिक्त रुपमा नौ रन पाएको थियो ।

तपाईंको प्रतिक्रिया