गाजा क्षेत्रमा मृतक र घाइतेको संख्या अत्यधिक

 मङि्सर २४, २०८०

काठमाडौं । इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान युनिसको नासिर अस्पतालका डाक्टरहरुले मृतक र घाइतेको संख्या अत्यधिक भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् । उनका अनुसार अस्पतालको क्षमताभन्दा धेरै संख्यामा घाइते र मृतकलाई ल्याइएको छ ।

यसैबीच युएन वर्ल्ड प्रोग्रामको उपनिर्देशक कार्ल स्काउले प्यालेस्टिनी क्षेत्रमा १० मध्ये ९ जनाले हरेक दिन खान नपाएको बताएका छन् । त्यहाँका आधा जनसंख्या भोकमरीको चपेटामा छ । जबालिया क्याम्पमा बसेकाहरु कयौं दिनदेखि भोकै प्यासै बस्न बाध्य छन् । इजरायली सेनाका प्रवक्ताले भने गाजा क्षेत्रमा मानवीय सहायता पुर्याउने कोसिस भइरहेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया