नेपाल सुपर लिगको उपाधी ललितपुर सिटीले जित्यो

 पुष १४, २०८०

काठमाण्डौं । उत्कृष्ट पुनरागमन रच्दै ललितपुर सिटी एफसीले शनिबार नेपाल सुपर लिग-२०२३ को उपाधि जितेको छ । नाइजेरिसयाली खेलाडी इमो इजिकेलको २ गोलको मद्दतले उसले लामो समयपछि भरिभराउ दशरथ रंगशालामा भएको फाइनलमा १० खेलाडीमा सीमित धनगढी एफसीलाई ३–२ लाई हराएको हो ।

ललितपुरले १ गोलले पछाडि रहेको स्थिति उल्टाएर मीठो जित निकालेको हो । पहिलोपल्ट फाइनल खेलिरहेको ललितपुर त्यसमै च्याम्पियन हुन सफल रह्यो । धनगढी भने फेरि एकपल्ट अभाग्यशाली रह्यो । वर्ष ०७८ को पहिलो संस्करणमा पनि धनगढी उपविजेतामै सीमित रहेको थियो । पहिलो हाफ अपेक्षाअनुसार रहेन र दुवै टिमले संयमित भएर खेले । त्यसको अन्त्यतिर खेलले लय समाटेको थियो र त्यो पछिसम्म कायम रह्यो । खेलको ३७ औं मिनेटमा आफिज ओलावालाले गोल गरे । लेवनानी मोहम्मद हिजाजीले सिर्जना गरेको सुरुआती अवसरमा गोल भएको हो । उनको प्रहार ललितपुरका फ्रान्सेली गोलरक्षक जेफरी विल्लीले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् ।

त्यसमै फुत्काएको बलमा ओलावालेले गोल गरे । उनले प्रहार गर्दा पोस्टमा सञ्जित राईमात्रै थिए र उनसामु त्यसलाई रोक्ने अवसर नै थिएन । इमो इजिकेलले पहिलो हाफको इन्ज्युरी समयको ११ औं मिनेटमा फ्रि किकबाट गोल गरेका हुन् । उनले २५ यार्डबाट गरेको प्रहार सिधा बाटो तय गर्दै गोलमा परिणत भएको थियो र खेल बराबरीको स्थितिमा पुग्यो । ललितपुरले दिनेश हेमजनको गोलले ५० औं मिनेटमा अग्रता लिएको थियो ।

आदित्य शाक्यको पासमा उनले सजिलै गोल गरे । तेस्रो गोल भने आफैमा उत्कृष्ट रह्यो र यसका लागि इजिकेलले ओभरहेड किकको मद्दतले गोल गरे । यससँगै उनी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन् । उनको यो प्रतियोगितामा छैटौं गोल हो । खेलको ७९ औं मिनेटमा धनगढीका रिचर्ड ओसेइ दोहोरो पहेंलो कार्डमा मैदान छाड्न बाध्य रहे ।

दोस्रो हाफको इन्ज्युरीमा हिजाजीले धनगढीका लागि एक गोल फर्काए । तर यो सान्तवना गोलमात्रै रह्यो । यस जितसँगै ७० लाख रुपैयाँ जित्न सफल रह्यो भने धनगढी २० लाखमै सीमित रह्यो । लिग चरणको समाप्तीमा ललितपुर चौथो स्थानमा रहेको थियो र त्यसपछि उसले लगातार ३ खेल जित्नै उपाधिमाथि कब्जा जमाएको हो ।

तपाईंको प्रतिक्रिया