अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

 माघ १२, २०८०

काठमाडौं।  आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको छ । शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल अघिल्लो चरण पुगेको हो ।

एक सय ४६ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान देव खनालले महत्वपूर्ण अर्धसतक बनाए । ८९ बल सामना गरेको खनालले सात चौकासहित ५८ रन बनाए ।

नेपालका अर्जुन कुमाल १० र आकाश त्रिपाटी १६ रन जोडेर आउट भए । गुल्सन झा १, विपीन रावल २ र दीपक डुम्रेले ५ रन बनाए । दीपेश कँडेल ४ रन जोडेर आउट भए ।

त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०।१ ओभरमा १४५ रन बनाएको थियो ।

नेपालका तीव्र गतिका बलर आकाश चन्द एक्लैले ५ विकेट लिएपछि अफगानिस्तानको ब्याटिङ धरासायी बनेको थियो ।

अफगानिस्तानका लागि एएम गाजानफारले ३७, जम्सिद जार्दन ३, हसान इसाखिल २०, सोहिल खान ४ रनमा आउट हुँदा नूमन साह, खालिद तनिवाल र अलि अहमेद शून्य रनमा आउट भए ।

नेपालका लागि आकाश चन्द एक्लैले ५ विकेट लिँदा दिपेश कँडेलले २ विकेट लिए । गुल्शन झा, तिलक भण्डारी र सुवास भण्डारीले १र१ विकेट लिए ।

यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन् । आइसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन् । दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।

यो समूहबाट पाकिस्तान र न्यूजिल्याण्ड यसअघि नै सुपर सिक्समा पुगेका थिए ।

तपाईंको प्रतिक्रिया