दुर्घटना न्युनिकरणका लागि जागरण अभियान सञ्चालन गरिने

 माघ २१, २०८०

धनगढी । दिनानुदिन बढिरहेको सडक दुर्घटनाबाट देश आक्रान्त बनिरहेकोबेला सदुर पश्चिम प्रदेशभरी सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुर पश्चिम प्रदेश कमिटीले आइतबार धनगढी बसपार्कमा आयोजना गरेको कार्यक्रममा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारी झै बढीरहेकाले यसलाई रोक्न सबै सरोकारवालाको हातेमालो आवश्यक रहेको जनाउँनुहुँदै साझा कामका लागि कार्यदलको प्रस्ताव गर्नु भएपछि प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीको संयोजकत्वमा कार्यदल बनेको हो ।

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान कार्यदलको सदस्यहरुमा सुन्दर सुदुर पश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश अध्यक्ष ललित चन्द, खप्तड यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशी, कैलाली यातायात प्रालिका महासचिव तिर्थराज जोशी, नेपाल यातायात मजदुर संघ प्रदेश अध्यक्ष केशवराज पन्त र धनगढी उपमहानगरपालिकाको तर्फबाट सदस्य रहने गरी कार्यदल बनेको हो । कार्यदलले प्रदेश भरीका पालिका, चोक, सडकहरुमा सडक दुर्घटना न्युनिकरणका लागि जागरण अभियान सञ्चालन गर्ने संगठन प्रदेश अध्यक्ष ललित चन्दले जानकारी गराउनुभयो ।

यातायात मजदुर, पैदलयात्रीहरु, सडक प्रयोगकर्ताहरु, विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई जिम्मेवार बनाउँन अभियान सञ्चालन गरिने चन्दले बताउँनुभयो । कार्यपत्र प्रस्तुत गर्दै संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको तथ्य गर्नु भएको थियो ।

तीन करोड नेपाली सडक दुर्घटनाको जोखिममा रहेकाले सडक सुरक्षाका बारेमा सबै नागरिक, सबै संघसंस्थाहरु, तीनवटै तहका सरकारले गम्भिर हुनुपर्ने राईले बताउँनुभयो । धनगढी बसपार्कमा खुल्ला रुपमा सडक सचेतना सम्बन्धी कार्यक्रममा २ सयबढी चालक, सहचालक तथा परिचालकहरु सहभागी रहनुभएको थियो ।

केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल, जिफन्ट सुदुर पश्चिम प्रदेश अध्यक्ष जीतबहादुर मल्ल, सुदुरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणी गिरी, सुन्दर सुदुर पश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटा, कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिपक मल्ल, कैलाली यातायात प्रालीका महासचिव तिर्थराज जोशी, खप्तड यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशी, नेपाल यातायात मजदुर संघ प्रदेश अध्यक्ष केशवराज पन्त लगायतले अभियानमा एक्यबद्धता जनाउँनु भएको थियो ।

संगठनका महासचिव केशव थापा (निरु) ले अभियानको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा उपमहासचिव खगेन्द्र ओलीले धन्यवाद दिनुभएको थियो ।

तपाईंको प्रतिक्रिया