थर्कोट फेदीमै कार्यपालिका बैठक

 माघ २२, २०८०

तुलसीपुर । केही वर्ष अघि जलवायु परिवर्तनको असरका विषयमा हिमालयका हिउँ पग्लिएको विश्वको ध्यानाकर्षण गर्नका लागि कालापत्थरमा मन्त्री परिषद्को बैठक राखिएको थियो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठक समेत जलवायु परिवर्तनको असर र त्यस क्षेत्रको  विषयमा ध्यानाकर्षण गराउनका लागि सोमबार बैठक आयोजना गरिएको छ । चैत महिनामा फूल्ने गुराँसको फूल   र  चैत महिनामै पाक्ने  चैते काफल माघ महिनामै फूलेका छन् भने काफल पनि पाक्दै छन् ।

तुलसीपुर  उपमहानगरपालिका वडा  नम्बर ३ मा रहको थर्कोट दाङ जिल्लाकै उचाइमा रहेको पहाडी भूगोल हो । नेपाल एकीकरणपूर्व सल्यानका फलावाङ्गी राजा तुलसीपुर आवतजावतका क्रममा बिसाउने पहाडी क्षेत्र थियो कुनै बेला थर्कोट । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले जलवायु परिवर्तनसँग जुध्ने  नीति तथा कार्यक्रममा पालिकास्तरबाट समेत निर्माणमा सहयोग पुगोस् भन्ने ध्येयले कार्यपालिका बैठक आयोजना गरिएको बताउनुभयो ।

उहाँले  थर्कोट पहाडका विषयमा ऐतिहासिक,धार्मिक,पर्यावरणीय  क्षेत्रका विषयमा समेत पालिकास्तरबाट नीति ,कार्यक्रम र बजेटमा व्यवस्थापनमा सबैको ध्यान पुगोस् भन्ने हिसाबले  बैठक आयोजना गरिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले ऐतिहासिक र पर्यावरणका दृष्टिकोणले महत्वपूर्ण ठानिएको थर्कोटमा कार्यपालिका बैठक आयोजनासँगै त्यस क्षेत्रको विकासमा तीन तहका सरकारको ध्यान पुग्ने अपेक्षा गरेको बताउनुभयो ।

बैठकले नगरसभाको मिति तय गरेको छ । जस अनुसार तुलसीपुर उपमहानगरपालिकाको १४ औँ नगरसभा आगामी माघ २६ गते गर्ने निणर्य भएको नगर प्रबक्ता एवं वडा नम्वर १८ का अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

प्रवक्ता वलीका अनुसार नगरसभा तीनदिन सम्म सञ्चालन गरेर माघ २९ गते समापन गर्ने कार्यतालिका रहेको छ । यस्तै वैठकले विभिन्न कार्ययोजना तथा प्रतिवेदन पास गरेको छ ।

 

 

तपाईंको प्रतिक्रिया