यातायात मजदुरलाई सम्मान गर्न कोष स्थापना

 माघ २४, २०८०

दाङ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीले यातायात मजदुर तथा मजदुरका छोराछोरीलाई पुरस्कृत तथा सम्मान गर्न कोषको स्थापना गरेकोछ । संगठन दाङ जिल्ला कमिटीको बुधबार तुलसीपुरमा सम्पन्न योजना बैठकले ३ लाख रकम विनियोजन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन यातायात श्रमिक सम्मान तथा छात्रवृति कोषको स्थापना गरेको हो । विनियोजित रकमलाई बैंकमा फिक्स डिपोजिटमा राखेर त्यसबाट प्राप्त व्याजबाट तीनवटा शिर्षकमा पुरस्कृत र सम्मान गर्नेगरी कोष स्थापना गरिएको हो ।

ब्याजबाट प्राप्त रकमबाट पुराना, इमान्दार र अनुशासित मजदुरहरुलाई सम्मान गर्ने, यातायात मजदुरका छोराछोरीलाई शिक्षामा सहयोग तथा पुरस्कृत गर्ने र मजदुरका काममा निरन्तर काम गर्ने कुशल संगठकलाई सम्मान गर्ने संगठन दाङका अध्यक्ष दिपक बुढाथोकीले बताउनुभयो । बैठकका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले संगठन केन्द्रीय कमिटीले पास गरेको कोषको विनियमका बारेमा प्रस्तुत गर्नुहुँदै प्रस्ताव कोष स्थापनाका लागि प्रस्ताव गर्नुभएपछि जिल्ला कमिटीले कोषका लागि रकम विनियोजन गरिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

कोषलाई क्रमशः बढाउँदै लगिने र धेरैभन्दा धेरै यातायात मजदुरहरुलाई यसको दायरामा पारिने जिल्ला अध्यक्ष बुढाथोकीले बताउनुभयो । साथै बैठकलेले यातायात श्रमिकहरुले काम गर्ने ठाँउमै पुगेर काम गर्ने उदेश्य सहित संगठन विस्तार र परिचालन योजना बनाएकोछ । चैतसम्म निर्माण गरिएको योजनामा ४ सय यातायात मजदुरहरुमाझ पुग्ने लक्ष्य सहित तुलसीपुर, घोराही र लमही बसपार्कमा सदस्यता वितरण र नविकरणका लागि शिविर सञ्चालन गर्ने, बसपार्कमा सडक सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने, लमही र भालुवाङमा कमिटी पुनर्गगठन गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको संगठनका केन्द्रीय उपमहासचिव खगेन्द्रबहादुर ओलीले जानकारी गराउनुभयो ।

बैठकमा संगठन केन्द्रीय कमिटी उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरे, संगठनका महासचिव केशव थापा, केन्द्रीय सदस्य छत्रबहादुर योगी तथा प्रदेश अध्यक्ष मोहन केसी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

तपाईंको प्रतिक्रिया