क्यानडालाई हराउँदा बने तीन कीर्तिमान

 माघ २७, २०८०

काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो ।

नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै विजयलक्ष्य पार गरेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पूरा गरेको यो दोस्रो ठूलो विजयलक्ष्य हो । यसअघि सन् २०२३ को मार्च ९ तारिखमा खेलिएको पपुवा न्यू गिनीविरुद्धको खेलमा नेपालले दुई सय ९८ रनको लक्ष्य पूरा गरेको थियो । त्यो खेलमा नेपालले पपुवा न्यू गिनीलाई ५२ रनले हराएको थियो ।

केवल ६४ रनमा दुई विकेट गुमाएपछि दबाबमा परेको नेपाललाई त्यसपछि कप्तान रोहित र यू–१९ राष्ट्रिय टोलीका कप्तान देवले जिततर्फ डोर्याएका थिए । यी दुई कप्तानले टोलीका लागि एक सय ५० रनको साझेदारी गरेका थिए । कप्तान रोहितले ८७ रनको योगदान गरे । देवले पनि महत्वपूर्ण ७६ रन बनाए । ओपनर ब्याट्सम्यान अनिल शाहले पनि टोलीको खातामा ५० रन थपेका थिए । भीम सार्कीले २३ र पवन सर्राफले १४ रन जोडेका थिए ।

कुशल मल्ल र सोमपाल कामी नौ–नौ रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो । क्यानडाका बलर हर्ष ठाकेर र ईश्वरजोत सोहीले दुई–दुई विकेट लिए । साद बिन जाफर र दिलप्रित बाजवाले पनि एक–एक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको क्यानडाका लागि भने ओपनर एरोन जोन्सनले ६५ रन बनाएका थिए । नवनित धालिवालले ४६ र श्रेयष मोभाले ४० रन जोडेका थिए । परगत सिंहले पनि टोलीको खातामा महत्वपूर्ण ३८ रन थपेका थिए । नेपाली टोलीका बलर रोहित पौडेल र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले पनि एक–एक विकेट हात पारेका थिए । आकाशको सिनियर टोलीबाट यो ‘डेब्यू’ खेल हो ।

सूर्य तामाङ र रिजन ढकालले भने बिहीबार सम्पन्न क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमार्फत सिनियर टोलीमा ‘डेब्यू’ गरेका थिए । क्यानडाविरुद्धको जारी शृंखलामा ‘डेब्यू’ गरेका तीनैजना खेलाडीले विकेट लिइसकेका छन् । रिजनले भने बिहीबारको खेलमै विकेट लिएका थिए ।

नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख १० रन बनाउँदै आउट भएका थिए । उनको विकेट क्यानडाका बलर ईश्वरजोत सोहीले लिएका हुन् । ४.५ ओभरमा उनी आउट हुँदा नेपाली टोलीले ५५ रन बनाएको थियो । आसिफ शेख र अनिल शाहले ओपनिङ विकेटका लागि महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल शाहलाई गुमाएको थियो । उनी अर्धशतक बनाउँदै आउट भएका हुन् । उनको विकेट पनि ईश्वरजोतले लिएका थिए । सोहीले अनिललाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् ।

 

अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने २० बलमै अर्धशतक पुरा गरेका हुन् । ६.३ ओभरमा अनिल आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको थियो । उनी ७६ रन बनाउँदै आउट भएका थिए । उनले ८१ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काए । उनलाई क्यानडाका बलर हर्ष ठाकेरले आफ्नो बलिङमा आफैले क्याच लिएका थिए ।

३३.५ ओभरमा देव आउट हुँदा नेपालले दुई सय १४ रन बनाएको थियो । देव र कप्तान रोहित पौडेलले टोलीका लागि एक सय ५० रनको साझेदारी गरेका थिए । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी पनि हो ।

यसअघि सन् २०२३ को फेब्रुअरी १४ तारिखमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै भएको नामिबियाविरुद्धको खेलमा तेस्रो विकेटका लागि रोहित पौडेल र कुशल भुर्तेलले एक सय ३३ रनको साझेदारी गरेका थिए ।

तपाईंको प्रतिक्रिया