मेट्रो कलेजमा न्यायिक संवाद कार्यक्रम

 फागुन ११, २०८०

तुलसीपुर । तुलसीपुरमा रहेको मेट्रो कलेजमा न्यायिक संवाद कार्यक्रम आयोजना गरिएको छ । उच्च अदालत तुलसीपुरको आयोजनाका कार्यक्रम गरिएको हो । कार्यक्रममा बिएएलएलबी अध्ययनरत विद्यार्थीहरुलाई उच्च अदालत तुलसीपुरले सम्पादन गर्ने विभिन्न कामका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले अदालतले मुद्दा फर्च्यौटको काम छिटो छिटो गरिरहेको बताउनुभयो । उहाँले जस्तोसुकै अध्ययन गर्नुपर्ने मुद्दा भएपनि ढिलोमा १८ महिना भित्रमा फर्च्यौट गरिएको जानकारी दिनुभयो ।

कानूनको दृष्टिमा सबै समान हुने भएकाले न्याय सम्पादनका क्रममा अदालतले कसैलाई पनि पक्षपात नगर्ने उहाँको भनाई थियो । अदालतका बारेमा कतिपय मानिसमा ठूलो भ्रम रहेको बताउँदै न्यायाधीश पाण्डेले न्याय निरुपणमा अदालतले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
विद्यार्थीले राखेका जिज्ञासाहरुको जवाफ दिदै मुख्य न्यायाधीश पाण्डेले अर्ध न्यायिक क्षेत्रहरुको सक्रियताले अदालतको बोझ कम हुने बताउँदै आम जनतालाई कानूनी ज्ञान प्रदान गर्नु राज्यको दायित्व भएको कुरामा जोड दिनुभएको छ ।

कार्यक्रममा अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले उच्च अदालत तुलसीपुरले सम्पादन गरिरकेका मुद्दाका साथै उल्लेखनीय कार्यका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा न्यायाधीशहरु राजुराम सिलवाल, अर्जुनप्रसाद कोईराला, अचुतम कुमार आचार्य, विष्णुप्रसाद अर्याल र उच्च सरकारी वकील कार्यालयका सह न्यायाधिवक्ता मोहनसागर बस्यालले समसामयिक कानुनी प्रावधानका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा तुलसीपुर मेट्रो कलेजका प्राचार्य वसन्त आचार्यले कलेजले आम जनतालाई कानूनी शिक्षा प्रदान गर्नका लागि गाउँगाउँमा पुगेर अभिमुखीकरण गरिरहेको बताउनुभएको छ । सो अवसरमा विद्यार्थी दुर्विन वलीले कानूनी शिक्षाका बारेमा बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण उच्च अदालत तुलसीपुरका शाखा अधिकृत राजेन्द्र कुमार शर्माले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया