नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जीत

 फागुन १८, २०८०

काठमाडौं ।  त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो । यस जितसँगै नेपालले २ अंक जोडेको छ । नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ । अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

नामिबियाले कमजोर सुरुवात गरेपनि मध्यक्रममा कप्तान स्मिट र फ्रिलिंकको साझेदारीसँगै खेलमा फर्केको थियो । तर दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले १६ औं र १७ औं ओभरमा दुवैलाई आउट गर्दै कसिलो बलिङ गरेपछि नेपाल खेलमा फर्कियो । अन्त्यमा ग्रीन र ट्रम्पलम्यानले बाउन्ड्री प्रहार गर्दै खेल रोमान्चक मोडमा पुर्याए ।

अन्तिम ओभरमा नामिबियालाई जितको लागि १२ रन चाहिएको अवस्थामा करण केसीले बलिङ गरेका थिए । सुरुवाती २ बलमा सिंगल दिएपछि करणले तेस्रो बलमा ग्रीनलाई बिट गरे । चौथो बल फ्याँक्ने क्रममा वाइड भयो । त्यसपछि ग्रीनले सिंगल लिए । पाँचौ बलमा करणले ट्रम्पलम्यानको विकेट लिए । अन्तिम बलमा स्कोल्जले चौका प्रहार गरेपनि नेपाल जित निकाल्न सफल भयो ।

तपाईंको प्रतिक्रिया