आजदेखि बजेट अधिवेशन
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार दिउँसो २ बजे अधिवेशनको पहिलो बैठक बोलाइएको छ ।
हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो । त्यसको तीन सातापछि सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । हिउँदे अधिवेशन प्रभावकारी नभएको गुनासोपछि सभामुख देवराज घिमिरेले सभाको अवरोध अन्त्यलगायतका विषयमा बुधबार प्रमुख दलका शीर्ष नेतासँग समेत परामर्श गर्नुभएको थियो । अघिल्लो अधिवेशनबाटै सुरु भएको सहकारीको रकम हिनामिना प्रकरणको विषयमा संसदीय छानबिन समिति बन्ने वा नबन्ने विषय निक्र्यौल भने भएको छैन ।
अधिवेशनको प्रारम्भमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइने छ । यस्तै सभामुख/अध्यक्ष तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलको घोषणा हुने छ । दलीय आधारमा सदनलाई सम्बोधन पनि संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ । साथै लगानी सहजीकरणका लागि सरकारले विभिन्न आठ कानुन संशोधनका लागि ल्याएको अध्यादेश पनि बैठकमा पेस गर्ने राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा छ ।




तपाईंको प्रतिक्रिया