व्यवसायीक हितका लागि हाम्रो उम्मेदवारी हो: विनिल केसी

 बैशाख २८, २०८१

उमा भण्डारी, तुलसीपुर । नेपाली काँग्रेससंग आवद्ध व्यवसायीयहरुको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघमा विनिल केसीको नेतृत्वमा निर्वाचनमा गएको टिम र पत्रकारहरुबिच तुलसीपुरमा साक्षात्कार कार्यक्रम भएको छ । चुनावी एजेण्डाका विषयमा भएको साक्षात्कारमा अध्यक्षका पदका उमेद्धवार विनिल केसीले व्यवसायीहरुको दिर्घकालिन समस्या समाधान, व्यवसायीक स्थायीत्व, सुरक्षा, थप रोजगार सिर्जना र स्थानीय सरकारसंगको समन्वयमा स्थानीय विकासलाई प्राथमिकतामा लिएर जाने बताएका थिए ।

स्थानीय सरकार, प्रदेश सरकारसंगको समन्वयमा स्थानीय व्यापार प्रवद्र्धन, बजारीकरण र यसक्षेत्रको विकासका लागि आफ्नो टिम कटिवद्ध भएर लाग्ने बताए । व्यवसायीहरुको प्रोत्साहन र सुरक्षा प्रमुख चूनौती रहेको भन्दै बजारक्षेत्रमा सुरक्षाको प्रत्याभूति हुने गरी आफ्नो नेतृत्वले काम गर्ने योजना बनाएको अध्यक्षका उमेद्धवार केसीले जानकारी गराए ।

अहिले युवाहरु सबैक्षेत्रमा पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यतामा रहेको र त्यही मान्यता अनुसार काँग्रेस निकट व्यवसायीहरुको नेतृत्व गरेर आफु निर्वाचनमा होमिएको उनले बताए । काँग्रेसले यसपटक वाणिज्य संघमा युवाहरुको टोलीलाई जिम्मा दिएको भन्दै व्यवसायीहरुको हकहितका लागि आगामी ३ वर्ष भित्रमा देखिने गरी काम गर्ने बताए । उनले अहिलेको आवश्यकतालाइ मध्यनजर गरेर युवाहरु नेतृत्वमा जान लागेको भन्दै सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन दाङका बरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराइले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण युनियनका पूर्व कोषाध्यक्ष शरद रेग्मीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया