नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

तुलसीपुर । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षकलाई सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । प्राथमिक विद्यालय, गोल्टाकुरी कौवाघारी दाङमा शिक्षक भिम कुमार डिसीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएपछि मुद्दा दायर गरिएको हो ।
अख्तियार अनुसन्धान आयोगका अनुसार प्रावि स्थायी शिक्षक डीसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको पाइएको जनाइएको छ । उनले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट जारी भएको हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल सरकारको स्थायी शिक्षकको रुपमा २०५० साल असार १ गते नियुक्ति लिएका थिए । प्रावि द्वितीय श्रेणीबाट अनिवार्य अवकाश लिएको देखिन आएको हुदा निज भिम कुमार डिसीले नक्कली प्रमाणपत्र पेश गरी सरकारी ओहोदा, लाभ र सुविधा लिइएको आरोप छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको सजायको मागदाबी लिई मंगलवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
तपाईंको प्रतिक्रिया