नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा आइडियल बन्यो प्रथम

 असार ०८, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका स्तरीय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा आइडियल बोर्डिङ स्कुल प्रथम भएको छ ।  आज सम्पन्न भएको प्रतियोगितामा अमर बोर्डिङ स्कुल द्वितीय, मेरीगोल्ड बोर्डिङ स्कुल तृतीय र राप्ती बाल एकाडेमी सान्त्वना भएको हो । विज्ञान शिक्षक समाज नेपाल तुलसीपुर नगर समितिको आयोजनामा प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार, ५ सय र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा संस्थागत तर्फ २४ र सामुदायिक तर्फ १९ गरि तुलसीपुरका ४३ विद्यालयको सहभागिता रहेको थियो । पहिलो चरणबाट १० विद्यालयहरू दोस्रो चरणमा प्रबेश गरेका थिए । विज्ञान शिक्षक समाज नेपाल तुलसीपुर नगर समितिको आयोजना, दाङभ्याली मावि तुलसीपुरको प्रायोजन एवं शिक्षा युवा तथा खेलकुद महाशाखा तुलसीपुरको समन्वयमा प्रतियोगिता भएको हो ।

विज्ञान शिक्षक समाज नेपाल तुलसीपुर अध्यक्ष रुपेश गुप्ताको अध्यक्षता तथा शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा समाजका लुम्बिनी प्रदेश सदस्य मानबहादुर बस्नेत, दाङ जिल्ला सचिव तिलक साहु, पूर्व सचिव गिरिराज लम्साल लगायतले बोलेको थिए ।  नगर उपाध्यक्ष नारायण बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर नगर सचिव दिपक वलीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया