स्ववियु निर्वाचन चैत ५ गते हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।
यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।
यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। त्यतिवेला नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।
तपाईंको प्रतिक्रिया