तुलसीपुर खानेपानी निर्वाचन: माओवादीबाट उम्मेदवारको टुङ्गो, काँग्रेस-एमाले छलफलमा

 फागुन १६, २०८१

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएसगैं दलहरु तयारीमा जुटेका छन् । खानेपानी संस्थाको निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते मनोनयन दर्ताको समय तोकिएको छ भने चैत्र २ गते मतदान हुने छ ।

खानेपानीको नेतृत्वका लागि मुख्यत तीन दलले आन्तरिक छलफल गर्दै उम्मेदवार छान्ने काममा लागि परेका छन् । अहिलेसम्म माओवादी केन्द्रले मात्रै अध्यक्षका उम्मेदवार टुगोँ लगाएको छ । हालका उपाध्यक्ष सिताराम शर्मालाई नै अध्यक्षको उम्मेदवार बनाउने उस्ले निर्णय गरेको छ ।

काँग्रेस र एमालेले भने टुङ्गो लगाउन सकेका छैनन् । तुलसीपुर खानेपानीको नेतृत्व फेरि पनि लिने दाउमा रहेको नेपाली काँग्रेस भित्र अध्यक्ष पदका लागि यमकान्त भण्डारी, शोभाकर सापकोटा, भोला थापाको नाम चर्चामा छ । यद्यपी बहालवाला अध्यक्ष यमकान्त भण्डारीलाई पुनः दोहर्‍याउँदा निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न सकिने मनस्थितिमा काँग्रेस रहेको बताईन्छ । यद्यपी काँग्रेसले आकाँक्षिहरु संग छलफल गरिरहेको छ ।

यस्तै, नेकपा एमालेले पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । अध्यक्ष पदका आकाँक्षीहरुसंग छलफल चलिरहदा आआफ्नै अडानले गर्दा एमालेलाई टुङ्गो लगाउन नसकेको बताईन्छ । एमालेभित्र हालका सचिव सेवकराम भण्डारी, पुर्व सचिव मनोज लामिछाने र राम प्रसाद चालिसेको नाम चर्चामा छ । यद्यपी पार्टीभित्र सेवकराम भण्डारीलाई अघि सारेर जादा निर्वाचन जित्न सकिने भएकोले उनिमै केन्द्रीत भएको एक नेताले बताएका छन् ।

तपाईंको प्रतिक्रिया