शिक्षामन्त्रीले आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाए

 बैशाख १२, २०८२

काठमाडौं | विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न मागसहित २४ दिनदेखि आन्दोलित शिक्षकहरूलाई नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका छन् ।

हाल प्रतिनिधिसभाको संसदीय समितिमा छलफलको प्रक्रियामा रहेको विधेयक जारी गर्न मागसहित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलन करिब एक महिना पुग्न लाग्दा शिक्षामन्त्रीले वार्तामा बोलाएका हुन् ।

यिनै घटनाक्रमलाई मध्यनजर गर्दै बिहीबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त पन्तले शिक्षकका प्रतिनिधिहरूलाई वार्तामा सहभागी हुन आह्वान गरेका हुन् । शिक्षा मन्त्री पन्तले एक विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्ने मागप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

मन्त्रालयका अनुसार शिक्षकहरूको हक–हित प्रवर्द्धन गर्न र समस्याको दीर्घकालीन समाधान खोज्न मन्त्रालय निरन्तर प्रयत्नशील रहेको छ।

तपाईंको प्रतिक्रिया