तुलसीपुर उपमहानगरपालिकाद्धारा तीन वर्षमा भएका उपलब्धी सार्वजनिक

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । आज उपमहानगरपालिकामा पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी सो प्रगति विवरण सावैजनिक गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले आफु निर्वाचित भएर आएदेखि भौतिक, शैक्षिक, स्वास्थ्य, कृषि, राजस्व, महिला तथा बालकालिका शाखा, न्यायिक समिति, रोजगार सेवा केन्द्र, शान्ति सुरक्षा लगायत सम्पूर्ण क्षेत्रमा भएको कार्यहरुको विवरण सार्वजनिक गरेका हुन ।
राजस्व तर्फ
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म २२ करोड १५ लाख ९७ हजार १९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा २९ करोड, १९ लाख ३ हजार ७ सय ४६ रुपैयाँ र आर्थिक वर्ष २०७९/०८० मा २७ करोड, ८९ लाख ११ हजार ७२ रुपैयाँ राजस्व संकलन गरेको थियो । यसका साथै मेला महोत्सव सम्बन्धि कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । यसबाट राजश्व संकलनमा बृद्धि भएको छ ।
यस्तै, आर्थिक प्रशासनतर्फको वित्तिय प्रगतिमा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ८७.८१ प्रतिशत वित्तिय प्रगति गरेकोमा गत आर्थिक वर्ष २०८०/०८१ मा ८९. १३ प्रतिशत र चालु वर्षको चैत मसान्तसम्म ७२.१८ प्रतिशत वित्तिय प्रगति भएको छ ।
भौतीक पुर्वाधार
भौतिक पूर्वाधारतर्फ यस बर्ष ८ किलो मिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । विगत तीन वर्षमा २६ सडकको ३३ किलोमिटर सडक कालोपत्रे भएको छ भने १५.७४ किलोमिटर कालोपत्रे सडक मर्मत, २३ किलोमिटर लामो सडकको पक्की नाला निर्माण, २ ओटा पुल, कल्भर्टहरु निर्माण, ५५ किलोमिटर सडक ग्राबेल, २० किलोमिटर नयाँ सडक कटिङ, १४ वटा विद्यालय भवनहरु निर्माण भएका छन् । वडा नंबर १४ को भोजपुर घाटमा झोलुङगे पुल निर्माण, तुलसीपुर मेट्रो कलेज र मेट्रो अस्पतालको थप संरचना निर्माण, तुलसी ट्रेड टावरको निर्माण सम्पन्न भएको छ ।
यस्तै ४ वटा वडा कार्यालयहरु र ४ वटा स्वास्थ्य चौकीभवन निर्माण, १३ वटा सामुदायिक भवन निर्माण र ११ वटा विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ । यसैगरी मठमन्दिर, प्रतिक्षालय र पार्कहरु गरी ५६ वटा संरचनाहरु निर्माण भएका छन् । सबै वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा रहेका छन ।
न्यायिक समिति
न्यायिक समितिमा तीन वर्षमा ५ सय ७६ मुद्धा दर्ता भएका छन् । ती मध्ये १ सय १८ मुद्धाको मिलापत्र गरिएको छ भने १ सय ६७ वटा मुद्धाको इजलाशबाट निर्णय भएको सहित गरेर ३ सय २५ वटा फच्र्यौट भएका छन् । ७३ वटा मुद्धा कार्यान्वयनको प्रक्रियामा रहेका छन् । ३६ जना हिंसा प्रभावित महिलाहरुलाई न्यानो कपडा वितरण र २९ जना हिंसा प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाबाट हालसम्म १ सय ६७ वटा कानुन निर्माण भएको लगायतका उपलब्धिहरु सार्वजनिक गरिएको हो ।
कृषि
कृषिमा पनि थुप्रै उपलब्धिहरु भएको नगरप्रमुख खड्काले जानकारी दिनुभयो । कृषिमा स्थानिय किसानहरुको उत्पादन प्रोत्साहन तथा जसको उत्पादन उसैबाट वितरणका लागि किसान परिचयपत्र वितरण, किसानहरुका लागि मुल्य सुचि, खेतीका विषयमा जानकारीका लागि डिजिटल बोर्ड स्थापना, जियो एप संचालन, आधुनिक कृषि तथा फलफूल बजार संचालन, व्यवस्थित मासुमण्डी संचालन, जियो कृषि कार्यक्रम अन्तर्गत ३ हजार कृषक सूतिकृत गरिएको छ । गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादन, नगल्ने प्लास्टिकजन्य फोहोरबाट प्लास्टिकका सामग्री निर्माण गर्ने मेसिन खरिद लगायतका उपलब्धिहरु भएका छन् ।
महिला तथा बालबालिका
उपमहानगरले लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये दलित शशक्तिकरण ऐन ल्याउने पहिलो पालिका तुलसीपुर उपमहानगरपालिका बनेको छ । यसबाट दलित समुदायको आर्थिक र सामाजिक उत्थान गरि विभेद रहित समाज निर्माणका लागि सहज हुने अपेक्षा गरेको छ । वडा नम्बर १६ र १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । मेयर कोशेली मार्फत ८ सय जना जेष्ठ नागरीकलाई मह वितरण गरिएको छ ।
शिक्षा तर्फ
कक्षा स्थगन भएका विद्यालय सञ्चालनमा ल्याउनुका साथै दरवन्दी मिलान गरि तहगत अनुरुप प्रधानाध्यापकको ब्यवस्थापन गरिएको छ । तुलसीपुर बहुप्राविधिक शिक्षालयमा ७ सय विद्यार्थी अध्ययनरत रहेकोमा ३ सय जनालले निशुल्क छात्रबृत्तिमा अध्ययन गरिरहेको छन । विभिन्न २८ वटा विद्यालयमा भौतिक संरचणा निर्माण भएका छन भने यस बर्ष थप ५ विद्यालयमा कोठा निर्माण भएका छन ।
खेलकुद
एक वडा एक खेल मैदानलाई निरन्तरता दिदै वडा नम्बर १५ मा क्रिकेट रंगशाला निर्माणको तयारी थालिएको छ । त्यहा तारवारको काम भैसकेको छ । त्यहा ठुला प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । पालिका स्तरीय हुने खेलमा सहभागिता जनाउदै खेलाडीको प्रबद्र्धन गर्ने काम भएको छ । हरेक वडामा खेल क्षेत्रको विकासका लागि प्रतियोगिता सञ्चालन भैरहेको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले मूलधारका मिडिया र सामाजिक संजाल विचको विभेद समाजले छुट्याउन नसक्दा समस्या सिर्जना भैरहेको बताउनु भयो । त्यसका लागि मिडिया साक्षरता अभियान कार्यक्रमको आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमहरु संचालन गर्न आग्रह गरेका थिए । साथै पत्रकारको क्षमता विकास तथा मिडियाको आर्थिक विकासका लागि स्थानिय सरकारसँग हातेमालो गर्न पत्रकार महासंघ सहकार्य गर्न पनि तयार रहेको प्रतिवद्धता जनाएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको सहकार्यमा भएको कार्यक्रमको सहजीकरण नगर प्रवत्ता माधव वलीले गर्नु भएको थियो ।
तपाईंको प्रतिक्रिया