सामाजिक सेवामा दुर्गादेवी जुम्बा क्लब, प्रधानमन्त्री उद्धार कोषमा १६ हजार ५ सय सहयोग

 भदौ १६, २०८३

दाङ । तीजको दर खाने तथा मनोरञ्जनमा हुने खर्च कटौती गर्दै दुर्गादेवी शारीरिक व्यायाम तथा जुम्बा क्लबले विपद् प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। घोराही उपमहानगरपालिका–११, खैरा दाङमा रहेको क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन तीजको अवसरमा आयोजना हुने कार्यक्रम स्थगित गरी उक्त रकम विपद् राहत तथा उद्धारका लागि प्रदान गरिएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष पूर्णप्रसाद अधिकारी (तोरण) ले तीजमा हुने अनावश्यक खर्चलाई कटौती गर्दै विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताए। उनले मनोरञ्जनभन्दा मानवीय सेवलाई प्राथमिकता दिँदै सहयोग गरिएको उल्लेख गरे।

क्लबले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्न सबैलाई आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नसमेत आग्रह गरेको छ। दुर्गादेवी शारीरिक व्यायाम तथा जुम्बा क्लबको यो पहलले सामाजिक उत्तरदायित्व, मानवीय सेवा र सामाजिक सद्भावको सकारात्मक सन्देश दिएको छ।

तपाईंको प्रतिक्रिया