एमाले दाङले जनप्रतिनिधिहरूको भेला तथा प्रशिक्षण गर्ने

 बैशाख २८, २०८२

घोराही ।  नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक पार्टी कार्यालय भरतपुर घोराहीमा सम्पन्न भएको छ । जिल्ला कमिटीका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवम् जिल्ला इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकले महासचिव शंकर पोख्रेलको उपस्थितिमा जेठ ६ गतेको नेत्र स्मृति दिवस तुलसीपुरमा र जेठ ७ गते स्थानीय जनप्रतिनिधिहरूको भेला र प्रशिक्षण घोराहीमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै जेठ ३ गते मदन आश्रित स्मृति दिवसका अवसरमा देउखुरीमा विशेष कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकले जेठ १० गते भित्र पार्टी सदस्यता नवीकरण गरिसक्न वडाहरूलाई निर्देशन समेत दिएको छ । बैठकलाई सम्बोधन गर्दै पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीले जनताका कामहरूमा सहकार्य गर्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । जरामा पार्टीलाई बलियो बनाउन वडा र टोलहरूमा केन्द्रित हुन अनिवार्य छ , त्यहाँ ध्यान दिनुस्, दाङ इन्चार्ज समेत रहनुभएका चौधरीले भन्नुभयो ।

त्यसै बैठकलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष शिवकुमार आचार्यले आ आफ्नो जिम्मेवारी अनुसार पार्टीको काममा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।  बैठकमा दाङका १० वटै पालिकाका अध्यक्षहरूले पालिकामा भएका कामहरूको रिपोर्टिङ गर्नुभएको थियो । बैठकले नेकपा एमाले दाङ प्रचार तथा प्रकाशन विभागलाई पूर्णता समेत दिएको छ ।

जस अनुसार सचिवालय सदस्य सङ्गीत बस्याल प्रमुख रहेको प्रचार विभागको सचिवमा किरण गौतम मनोनित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा दशरथ घिमिरे, रिता लामा, हेमराज डाँगी, पाण्डव शर्मा, दिप्तिशिखा चौधरी, गोकर्ण पौडेल, शिवराज पन्थी, सन्तोष कुमार गुप्ता र अर्जुन परियार रहनुभएको चौतारी फाँट प्रमुख गणेश आचार्यले जानकारी दिनुभएको छ । बैठकको सहजिकरण जिल्ला उपसचिव भुवनेश्वर पौडेलले गर्नुभएको थियो । 

तपाईंको प्रतिक्रिया