टिप्परको ठक्करबाट स्कुटी चालक पाण्डे गम्भीर घाइते
तुलसीपुर | दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। तुलसीपुरबाट दुधरासस्थित सोना सिमेन्ट फ्याक्ट्रीतर्फ जाँदै गरेको ना १ ख ९३२० नम्बरको टिप्परले विपरित दिशाबाट आइरहेको रा ४ प ३७७९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक ५६ वर्षीय निम बहादुर पाण्डे गम्भीर घाइते भएका हुन्।
घाइते तुलसीपुर–११ निवासी घाइते निम बहादुरलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारपछि थप उपचारको लागी नेपालगञ्जस्थित नर्सिङ होममा रेफर गरिएको छ। उनलाई टाउको, छाती र मुखमा गम्भीर चोट लागेको बताइएको छ।
दुर्घटना आज दिउँसो १:४० बजे भएको हो। टिप्परका चालक मकवानपुर, मनहरी गाउँपालिका–६ निवासी २७ वर्षीय विशाल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
घटनापछि दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् । घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




तपाईंको प्रतिक्रिया