लमहीका प्रमुख प्रशासकीय अधिकृत केसीसहित सातजना विरुद्ध भ्रष्टाचारको आरोप
दाङ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीसहित सातजनाविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। सिराहाको गोलबजार नगरपालिकामा कार्यरत रहँदा सार्वजनिक राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र ठेकेदारविरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुदरी हाटबजारको राजस्व संकलन र दाखिलामा अनियमितता भएको पाइएको छ। आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको कार्यपालिका बैठकबाट बुझाउनुपर्ने राजस्वमा २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरिएको थियो। कानुनअनुसार नगरसभाबाट हुनुपर्ने कर छुट कार्यपालिकाबाटै दिइएको अख्तियारको आरोप छ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा हाटबजारको राजस्व संकलनको जिम्मा अमानतमा पाएका ठेकेदार वीरेन्द्रकुमार यादवले संकलन गरेको एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा नगरपालिकाको सञ्चित कोषमा दाखिला नगरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
यस प्रकरणमा तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र ठेकेदार यादवविरुद्ध आरोपपत्र दायर गरिएको हो। अख्तियारले सार्वजनिक सम्पत्तिमा एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा हानिनोक्सानी भएको ठहर गर्दै सोही रकम बिगो कायम गरेको छ। आयोगले प्रतिवादीअनुसार फरक–फरक बिगो कायम गरी कैद, बिगोबराबर जरिवाना तथा बिगो असुलउपरको मागदाबीसमेत गरेको छ।



तपाईंको प्रतिक्रिया