दिव्य कुञ्ज स्काउट दलको तीनदिने आवासीय क्याम्प सम्पन्न
तुलसीपुर । दिव्य कुञ्ज एकेडेमी, तुलसीपुर–७, दाङअन्तर्गत सञ्चालित दिव्य कुञ्ज स्काउट दलको आयोजनामा सञ्चालन भएको तीनदिने आवासीय स्काउट क्याम्प (Closed Camp) आइतबार सम्पन्न भएको छ।
कात्तिक १३ गतेदेखि सुरु भएको क्याम्पको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा आयोजित समारोहबीच गरिएको हो।
समापन समारोहमा सहभागी ४६ जना स्काउटरलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्काउट गतिविधिले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मनिर्भरता, सामूहिक भावना, सहयोग र सेवाभाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले विद्यार्थीको शैक्षिक विकाससँगै व्यावहारिक ज्ञान, सामाजिक उत्तरदायित्व र जीवनोपयोगी सीप अभिवृद्धिका लागि यस्ता क्याम्प उपयोगी हुने धारणा व्यक्त गरेका थिए।
विद्यालयका प्रिन्सिपल कुलानन्द अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल स्काउट तुलसीपुरका संयोजक छवि कुमार वली, राप्ती बबई क्याम्पसका प्राध्यापक प्रेम योगी, प्रेस युनियन दाङका उपाध्यक्ष सन्तोष केसी तथा प्रशिक्षक अञ्जली शाहीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
तीन दिनसम्म सञ्चालन भएको क्याम्पमा स्काउटरहरूलाई विभिन्न सीपमूलक, सिर्जनात्मक, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा सहभागी गराइएको थियो। क्याम्पले विद्यार्थीहरूमा नेतृत्व, सहकार्य, जिम्मेवारीबोध र सेवाभाव अभिवृद्धि गर्न सहयोग पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सरला श्रेष्ठले गरेकी थिइन्।



तपाईंको प्रतिक्रिया