पल जेल चलान, जोशी एक लाख धराैटिमा छुट्ने

 चैत १०, २०७८


तनहुँ । जिल्ला अदालत तनहुँले नाबालिग बलात्कारको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उनका म्यानेजर कृष्ण जोशीको नाममा एक लाख धरौटी निस्किएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले एकल इजलासले तत्काल प्राप्त प्रमाणको आधारमा पल निर्दोष हुन् भन्न सक्ने आधार नदेखिएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने र मतियारको रहेको अभियोग लागेका जोशीको हकमा एक लाख धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको प्रस्तावित राय सुझाव पठाएपछि जिल्ला न्यायाधीवक्ताको कार्यालय तनहुँले मङ्गलवार अभियोग पत्र दर्ता गरेको थियो। बुधवारबाट सुरु भएको थुनछेक बहस बिहीबार सकिएपछि आदेश आएको हो ।

एक नाबालिगको परिवारले तनहुँ प्रहरी र इलाका प्रहरी कार्यालय गैँडाकोटमा पलविरुद्ध नाबालिगको बलात्कार गरेको जाहेरी दिएका थिए। गैँडाकोटको अनुसन्धान सकिएर जिल्ला अदालत नवलपुरमा समेत अभियोग पत्र दर्ता भइसकेको छ।

प्रहरी अनुसन्धानमा नाबालिगसँग सम्बन्ध रहेकी एक महिलालाई कृष्ण जोशीले धम्क्याउने गरेको र नाबालिग बलात्कार प्रकरणमा मतियारको भूमिका निभाएको देखिएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई मतियार बनाएको थियो।

थुनछेक बहस सकिएकाले अब घटनाको प्रमाण बुझ्ने, साक्षीहरूसँग बयान लिने लगायतका प्रक्रिया अगाडि बढ्नेछ। जिल्ला अदालतको आदेश विरुद्ध पल शाह उच्च अदालतमा पुनरावेदनमा जान सक्नेछन्। पुनरावेदनबाट समेत जिल्लाको आदेश सदर भएमा उनी सर्वोच्च अदालतमा जान सक्नेछन्। तीनै तहको अदालतबाट आदेश सदर भए मुद्दाको अन्तिम फैसला नआएसम्म उनले कारागारमै बसेर मुद्दाको प्रतिरक्षा गर्नुपर्नेछ ।

तपाईंको प्रतिक्रिया