सञ्चार उद्यमी धितालका हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण

 साउन ०४, २०८२

काठमाडौं ।  दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’का हत्यारालाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गिरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गणेश आचार्यले शनिबार गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०७६ साल साउन ६ गते अपरान्ह तुलसीपुर १२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्रीले अपराधीलाई कारवाही गर्नु राज्यको कर्तव्य भएको भन्दै हेमराजका हत्याराको पहिचान गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिवद्धता जनाए ।

यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले गरिरहेको छ । सीआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य भएको मृतक हेमराजका भाइ पुष्करको गुनासो छ । उनका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केच समेत तयार पार्न सकेको छैन् ।

तपाईंको प्रतिक्रिया