मुग्लिन-नारायणगढ सडकखण्डमा यात्रु अलपत्र

 असोज ०४, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो । साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको उनले अनलाइनखबरलाई बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । अहिले पनि सडकमा धेरै सवारी र मानिसहरू अलपत्र परेका छन् । एसपी पुरीका अनुसार, जिल्ला प्रशासन कार्यालय र प्रहरीले शनिबार दिउँसो अलपत्र यात्रुहरूलाई पानी र खानाको व्यवस्था गरेको थियो । राजमार्गमा भएका व्यवसायीहरूलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको उनले बताए ।

तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको छ । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । दशैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो । मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था समेत गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया