सेन्टर माविद्वारा ‘भर्ना अभियान २०८३’ घोषणा
तुलसीपुर । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित “हाम्रो विद्यालय, राम्रो विद्यालयः शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय सहभागिता मार्फत शैक्षिक गौरवको नयाँ परिचय” भन्ने नारासहित भर्ना अभियान २०८३ सुरु गर्ने निर्णय गरेको छ।
विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक–शिक्षिका तथा कर्मचारीको उपस्थितिमा बसेको बैठकले उक्त अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने साझा संकल्प व्यक्त गर्दै आगामी शैक्षिक रणनीतिक योजना तय गरेको हो। गत बर्ष देखि सुरु गरेको शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा विद्यालयमै भर्ना गर्ने नीतिलाई निरन्तरता दिन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार रावतले जानकारी दिनुभयो ।
विद्यालयले शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन शिक्षकको नियमित उपस्थिति, समयमै कक्षा सञ्चालन, पाठयोजना अनिवार्य गर्ने तथा कक्षा अनुगमन र मूल्यांकनलाई सुदृढ गर्ने निर्णय गरेको अध्यक्ष रावतले जानकारी दिनुभयो। साथै प्रत्येक शिक्षकले मासिक शैक्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने र प्रगतिको समीक्षा गर्न मासिक बैठक सञ्चालन गरिने जनाइएको छ।
विद्यालयले नतिजा–आधारित मूल्यांकन प्रणाली लागू गर्ने, प्रोजेक्ट–आधारित सिकाइलाई प्राथमिकता दिने तथा ‘स्टुडेन्ट नलेज एक्सचेन्ज प्रोग्राम’ मार्फत विद्यार्थीबीच अनुभव आदान–प्रदान गराउने योजना अघि सारेको छ। अतिरिक्त सिकाइका लागि विभिन्न दिवसमा खुल्ला प्रतियोगिता तथा हरेक शुक्रबार वादविवाद, हाजिरीजवाफ, लेखन, चित्रकला र खेलकुद जस्ता क्रियाकलाप सञ्चालन गरिनेछ।
त्यसैगरी, विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि ‘स्टुडेन्ट ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ भने नेतृत्व विकासका लागि चाइल्ड क्लब, इको क्लब, लिटरेरी क्लब र आईटी क्लब गठन गरिने जनाइएको छ।
विद्यालयले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिँदै डिजिटल उपस्थिति प्रणाली, क्यामेरा जडान तथा अभिभावकलाई जानकारी दिने अनलाइन सूचना प्रणालीले सिकाई सहजिकरणमा थप मद्दत पुगेको विद्यालयका प्रधानाध्यापक भागबत पौडेलले जानकारी दिनुभयो । अभिभावकको सक्रिय सहभागिता सुनिश्चित गर्न वर्षमा चार पटक अभिभावक–शिक्षक बैठक आयोजना गरिनेछ भने ‘ओपन स्कुल डे’ सञ्चालन गरी विद्यालयप्रति विश्वास अभिवृद्धि गरिनेछ।



तपाईंको प्रतिक्रिया