राजाकोट सामुदायिक वनको साधारणसभा : संरक्षणसँगै आयआर्जन र पर्यटनमा जोड

 ९ घण्टा अगाडि

तुलसीपुर  । दंगीशरण गाउँपालिका–२ कौवाघारीस्थित राजाकोट सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले वन संरक्षणसँगै वन उद्यम, रोजगारी सिर्जना र पर्यापर्यटन विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।

समूहका अध्यक्ष चक्र मिलन वि.क.को अध्यक्षता तथा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। साधारणसभामा बोल्दै    प्रमुख अतिथि दंगीशरण गाउँपालिका उपाध्यक्ष  खड्काले सामुदायिक वनमा रहेको सम्भावनालाई स्थानीय उपभोक्ताको हितमा उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले वनलाई कस्तो बनाउने भन्ने जिम्मेवारी उपभोक्ताकै भएकाले संरक्षणसँगै वन उद्यममार्फत आयआर्जन र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताउनुभयो।

स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनले संरक्षणमा मात्र सीमित नभई वन स्रोतबाट आम्दानी र रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो। वन संरक्षण, चरिचरण नियन्त्रणलगायतका क्षेत्रमा सामुदायिक वनले ठूलो लगानी गर्दै आएकाले उपलब्ध स्रोतको प्रभावकारी सदुपयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

ग्रीन फाउन्डेसन नेपालका उद्यम विकास अधिकृत सुरेश कुमार रावतले उपभोक्तालाई वन उद्यममा जोडिन आग्रह गर्नुभयो। उहाँले अहिले गरिएको लगानीले भविष्यमा प्रतिफल दिने भएकाले उपभोक्ता सक्रिय र जागरूक हुनुपर्ने बताउनुभयो।

तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरस्थित झुलेङ्गे पुलमा आयोजित साधारणसभामा समूहका अध्यक्ष चक्र मिलन वि.क.ले आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष सीता डाँगीले आर्थिक विवरण तथा प्रस्तावित बजेट र लेखा समिति संयोजक लोकराज लामिछानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

समूहले आगामी आर्थिक वर्षमा वनलाई ‘संरक्षित, समृद्ध, उत्पादनशील र पर्यापर्यटनमैत्री सामुदायिक वन’ का रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत वन संरक्षण, डढेलो नियन्त्रण, अग्निरेखा निर्माण, पानीका मुहान संरक्षण, कार्यालय भवन निर्माण, ‘राजाकोट हरित पार्क’ विकास तथा राजाकोट टावरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।

त्यस्तै, वनभोज स्थल निर्माण, जैविक मल उत्पादन, गैरकाष्ठ वन पैदावार तथा वनजन्य उद्यम प्रवद्र्धन, महिला तथा युवालाई उद्यम र आयआर्जनमा जोड्ने, वृक्षारोपण तथा वन व्यवस्थापनबाट प्राप्त काठ–दाउराको व्यवस्थित वितरण गर्ने कार्यक्रमसमेत प्रस्ताव गरिएको छ।

समूहको प्रशासनिक कामलाई डिजिटल प्रणालीमा लैजाने, उपभोक्ताका लागि घुम्तीकोष सञ्चालन गर्ने तथा वन संरक्षणमा खटिने पदाधिकारी, वन हेरालु र कर्मचारीको म्यादी जीवन बीमा गर्ने योजना पनि साधारणसभामा प्रस्तुत गरिएको थियो।

साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा, आगामी वर्षको नीति तथा कार्यक्रम, वित्तीय विवरण तथा बजेट, लेखापरीक्षण प्रतिवेदन र लेखा समितिको प्रतिवेदन अनुमोदन गरेको छ। साथै आर्थिक तथा प्रशासनिक कार्यविधि, घुम्तीकोष लगानी कार्यविधि, कार्यालय भवन निर्माण, अग्निरेखा निर्माण, राजाकोट टावर, हरित पार्क तथा वनभोज स्थल विकास, सालघारी जलाशय विस्तारलगायतका विषयमा करिब २५ वटा निर्णय पारित गरेको समूहले जनाएको छ।

साधारणसभाको अवसरमा सामुदायिक वनको संरक्षण, संवद्र्धन, दिगो व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वमा योगदान पुर्‍याउने व्यक्ति, संस्था, सञ्चारकर्मी तथा स्वयंसेवी युवालाई सम्मान गरिएको थियो। सहभागी उपभोक्ताको स्वास्थ्य परीक्षणका लागि तुलसीपुर साझा हस्पिटलको सहयोगमा स्वास्थ्य डेस्कसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल र दंगीशरण सब–डिभिजन वन कार्यालय, श्रीगाउँका प्रमुख दिवश परियारको विशिष्ट आतिथ्यता रहेको थियो। उपाध्यक्ष विवेक कुमार वि.क.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण सचिव भिमा घर्ती र सदस्य शारदा चौधरीले गर्नुभएको थियो।

तपाईंको प्रतिक्रिया