दमकल खरिद गर्न बजेट अभाव छैन, खरिद प्रक्रिया पूरा नहुँदा ढिलाइ : नगरप्रमुख खड्का
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले दमकल खरिदका लागि बजेट अभाव नभई खरिद प्रक्रिया पूरा हुन नसक्दा ढिलाइ भएको बताउनुभएको छ ।
नगर प्रमुख खड्काका अनुसार उपमहानगरपालिकाले दमकल खरिदका लागि १ करोड २५ लाख रुपैयाँ विनियोजन गरी सार्वजनिक खरिद प्रक्रिया अघि बढाएको छ । तर, दुई पटकसम्म टेन्डर आह्वान गर्दा पनि रीतपूर्वक ठेक्का स्वीकृत हुन नसकेपछि तेस्रो पटक पुनः सूचना आह्वान गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले दमकल व्यवस्थापनका लागि गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंलाई समेत अनुरोध गरेर पठाइएको भए पनि सुनुवाइ नभएको बताउनुभयो ।
उहाँले उपमहानगरपालिकाको सम्पत्तिमा आगजनी गरी करिब २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याउने व्यक्तिहरूले पनि दमकल खरिदका लागि रकम अभाव भएर प्रक्रिया रोकिएको नभई खरिद प्रक्रिया पूरा हुन नसकेको वास्तविकता बुझ्नुपर्ने उल्लेख गर्नुभयो ।
तेस्रो पटकको खरिद प्रक्रिया भने सफल हुने आफूले आशा गरेको नगर प्रमुख खड्काको भनाइ छ ।
उपमहानगरपालिकासँग दमकल खरिद गर्ने रकम नभए सहयोग अभियान सञ्चालन गरेर भए पनि दमकल खरिद गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन थालेपछि नगर प्रमुख टीकाराम खड्काले यसबारे स्पष्ट पार्नुभएको छ ।



तपाईंको प्रतिक्रिया