हुम्लाका तीन स्थानीय तहमा सामुदायिक वन डाटा पोर्टलसम्बन्धी प्रशिक्षण

 ८ घण्टा अगाडि

सिमकोट, हुम्ला । सामुदायिक वनको तथ्याङ्कलाई डिजिटल प्रणालीमा अभिलेखीकरण, व्यवस्थापन तथा अनुगमन गर्ने उद्देश्यले हुम्लाका तीन स्थानीय तहका प्रतिनिधिहरूलाई सामुदायिक वन डाटा पोर्टलसम्बन्धी प्रशिक्षण दिइएको छ। सिमकोट  बजारमा सम्पन्न प्रशिक्षणमा सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका जनप्रतिनिधि, प्रशासन तथा सूचना प्रविधि शाखाका कर्मचारी, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा फेकोफनका प्रशासन तथा सूचना प्रविधि संयोजक सन्देश चौधरीले पोर्टलको उद्देश्य, अवधारणा र सञ्चालन प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। उहाँले पोर्टलमार्फत सामुदायिक वनको विवरण प्रविष्टि, प्रतिवेदन तयार, तथ्याङ्क निर्यात तथा उपलब्ध विवरणको उपयोग गर्ने तरिकाबारे व्यावहारिक जानकारी दिनुभएको थियो।

प्रशिक्षणका क्रममा स्थानीय तहका सूचना प्रविधि अधिकृतसँगको समन्वयमा सामुदायिक वनको विवरण पोर्टलमा अभिलेखीकरण गर्नुका साथै स्थानीय तहलाई राष्ट्रिय डाटाबेसमा पहुँचका लागि लगइन विवरणसमेत उपलब्ध गराइएको थियो।

त्यसैगरी, सामुदायिक वनको सामान्य विवरण, जैविक तथा भौतिक अवस्था, वन विकास तथा व्यवस्थापन, उद्यम, वन अधिकार, सुशासन, सहभागितामूलक नक्साङ्कन तथा भौगोलिक सूचना प्रणालीसँग सम्बन्धित तथ्याङ्क सङ्कलन र अभिलेखीकरणबारे जानकारी दिइएको थियो।

कार्यक्रममा फेकोफनका तथ्याङ्क अभिलेखीकरण तथा अनुगमन संयोजक सन्तोष घिमिरेले पोर्टलमा उपलब्ध इन्फोग्राफिक्स, प्रयोगकर्ता निर्देशिका, तथ्याङ्कसम्बन्धी नीति तथा प्राविधिक समस्या समाधानका प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो।

छलफलका क्रममा सहभागीहरूले पोर्टलको उपयोगिता, तथ्याङ्कको दीर्घकालीन स्थायित्व, नियमित अद्यावधिक र स्थानीय आवश्यकताअनुसार थप गर्नुपर्ने सुविधाबारे सुझाव दिएका थिए। साथै, हुम्लामा पाइने औषधिजन्य वनस्पतिको रोयल्टी तथा व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो।

कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका वडा अध्यक्ष गेल्जे लामा, सिमकोटका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, तीनवटै स्थानीय तहका कर्मचारी तथा फेकोफन हुम्लाका जिल्ला अध्यक्ष राजेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा जिल्ला अध्यक्ष कार्कीले सामुदायिक वनका कार्ययोजना नवीकरण तथा स्थानीय वन ऐन र वनसम्बन्धी कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभयो। फेकोफनका अनुसार हाल नाम्खा गाउँपालिकाका ११ मध्ये १० वटा सामुदायिक वनको तथ्याङ्क पोर्टलमा प्रविष्ट गरिएको छ। त्यस्तै, सिमकोटका २६ मध्ये १८ र सर्केगाडका २८ मध्ये २१ वटा सामुदायिक वनको तथ्याङ्क प्रविष्ट भइसकेको छ।

बाँकी सामुदायिक वनको तथ्याङ्क सङ्कलन तथा प्रविष्टि कार्यलाई पनि निरन्तरता दिइने जनाइएको छ। यस प्रशिक्षणले स्थानीय तहमा सामुदायिक वनको तथ्याङ्क व्यवस्थित अभिलेखीकरण, सहज पहुँच, प्रभावकारी अनुगमन तथा प्रमाणमा आधारित वन व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया