मजघटुवा `ए´लाई वडाध्यक्ष कप फुटबलको उपाधि

 ५ मिनेट अगाडि

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिका–१३ को चौथो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि मजघटुवा ए समूहले जितेको छ । बिहीबार भएको फाइनल खेलमा बखरिया ए समूहलाई १–० गोलले पराजित गर्दै साविक फुलबारी गाविस वडा नं. ३ को मजघटुवा ए समूहले उपाधि हात पारेको हो । पराजित बखरिया ए समूह उपविजेतामा सीमित भएको छ ।

उपाधि विजेता मजघटुवा ए समूहले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बखरिया ए समूहले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी, भलिबलतर्फ बराखुटी समूहलाई पराजित गर्दै रनियापुर समूह प्रथम भएको छ । विजेता रनियापुरले नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बराखुटीले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।

महिलातर्फको रस्साकस्सी अर्थात् डोरी तानातान प्रतियोगितामा देवी लामिछानेको समूह प्रथम भएको छ । प्रथम हुने समूहले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, महिलातर्फकै ४०० मिटर दौड प्रतियोगितामा गंगा महतराले प्रथम स्थान हासिल गर्दै नगद २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

मंसिर ७ गतेदेखि चिसापानी सामुदायिक वनको नौखान चौर खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता बिहीबार समापन गरिएको हो । पुरस्कार वितरण समारोहमा तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष मोहनलाल पौडेल, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकलगायत जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया