एसईई लकडाउन खुलेपछि

काठमाडौँ , २८ वैशाख ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघिल्लो साँझ स्थगित गरिएको थियो । त्यसयता जनप्रतिनिधि र विज्ञले एसईईलाई फरक मोडबाट हुनुपर्ने बताउँदै आएका छन् । उक्त भनाइले विद्यार्थीलाई अन्योल सिर्जना गरेपछि मन्त्रालयले स्पष्ट पारेको हो ।
‘एसईई परीक्षा नगरी आन्तरिक मूल्यांकनबाटै गर्ने भन्ने विषयले विद्यार्थी र अभिभावकलाई अन्योलमा पारेको बुझिएको छ,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने, ‘विद्यमान शिक्षा ऐन कानुनअनुसार लिखित परीक्षाबाट मात्र एसईईले मान्यता पाउनेछ । आन्तरिक मूल्यांकनबाट एसईईलाई मान्यता दिने हो भने त्यसअघि ऐन संशोधन भएमात्र सम्भव छ । हामी (मन्त्रालय) त्यो बिन्दुमा पुगेका छैनौं ।’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको उनले उक्त विचार व्यक्त गरेका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले लकडाउन खुलेको दुई हप्तापछि एसईई र अरु परीक्षा लिइने बताए । ‘विद्यमान कानुनअनुसार एसईई परीक्षाको तयारी जहाँ पुगेर रोकिएको त्यहीँबाट अघि बढ्छ,’ कोरोनाको महामारीमा जीवनलाई जोखिममा राखेर परीक्षालाई महत्व नदिइने उल्लेख गर्दै पौडेलले भने, ‘स्थिति सहज भएर लकडाउन खुलेको दुई हप्ताको म्याद राखेर परीक्षार्थीलाई सूचना दिनेछौं । तयारीमै रहनुस् ।’ अध्यक्ष पौडेलले १ सय ४४ देशको परीक्षा बोर्डको स्थिति बुझेको र त्यसमा ७३ वटा बोर्डले परीक्षा स्थगित गरेको जनाए ।
तपाईंको प्रतिक्रिया