कोरोनाबाट आमाको मृत्यु, ९ दिने शिशुको रिर्पोट आज आउने

 जेठ ०४, २०७७

तुलसीपुर,४ जेठ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाले २४ वैशाखमा प्रसब पीडालाई जितेर त्रिवि शिक्षण अस्पतालमा सामान्य रुपमा बच्चालाई जन्म दिइन् । २५ वैशाखमा डिस्चार्ज भएर घर गएकी उनी घर पुगेपछि बिरामी परिन् । स्थानीय अस्पतालमा उपचार गराउँदा स्वास्थ्य अवस्था झन जटिल बनेपछि धुलिखेल अस्पताल ल्याइएपनि उनको बिहीबार राति निधन भयो । उनी एक साताको सन्तान छाडेर सधैंका लागि बिदा भइन् । 

ज्वरो आउने र श्वासप्रश्वासमा समस्या रहेकी उनको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखियो । उनी कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउने पहिलो व्यक्ति हुन् । शनिबार कोरोना भाइरस पुष्टि भएसँगै उनको पशुपति आर्यघाटमा दाह संस्कार गरिदैछ । कोरोनाका कारण उनको मृत्यु भएपछि उनको ९ दिनको शिशु धुलिखेल अस्पतालमा राखिएको छ ।

उनी आफ्नी आमाको स्तनपान र न्यानो माया पाउनबाट बन्चित भएका छन् । आमाको मृत्यु भएपछि उनको रेखदेखमा समेत समस्या भएको छ । उनलाई पनि कोरोना संक्रमण हुनसक्ने आशंकामा स्वाब निकालिएको छ । 

‘शिशुको शरीरमा कोरोना भाइरस छ कि भनेर परीक्षण गर्न स्वाब निकालिएको छ,’ अस्पतालका एक चिकित्सकले भने, ‘शिशुलाई अस्पतालमै राखिएको छ ।’ आइतबारसम्म शिशुको रिपोर्ट आउने अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिक्रिया