राहतको अपेक्षामा छौं: व्यवसायी

 असार ०३, २०७७

तुलसीपुर,३ असार ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा विभिन्न व्यक्तिहरुसँगको छलफललाई तिव्रता दिएको छ । यसैविच यस क्षेत्रका विभिन्न व्यापारीहरुसँग पनि उपमहानगरपालिकाले छलफल गरेको थियो । छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा ठूला आकारका उद्योग र व्यवसाय सञ्चालनमा ध्यान दिन व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

‘उपमहानगरमा हुनुपर्ने न्युनतम सुविधा पनि तुलसीपुरमा उपलब्ध हुन नसक्ने हुँदा व्यापारको मोडल बदल्न आवश्यक छ ’ नग प्रमुख पाण्डेले भने । उनले ठूला प्रकृतिका व्यापार र उद्योग सञ्चालन गर्नेलाई पूर्वाधार सहयोग गर्ने नीति ल्याइने कुरामा जोड दिएका थिए । कार्यक्रममा वोल्दै लोकतान्त्रिक उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण गिरीले तुलसीपुरको औद्योेगिक क्षेत्र कुन हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने वताए । उनले तुलसीपुर विमानस्थल यहाँको आवश्यकता भएको भन्दै त्यसलाई जोगाउनका लागि सबै लागि पर्नुपर्नेमा जोड दिए ।

व्यापारीहरुलाई विशेष राहतको प्याकेज ल्याउन आवश्यक रहेको वताउँदै टोपवहादुर घर्तीले लकडाउनले व्यापार धरासायी भएको कुरामा जोड दिए । तुलसीपुर चेम्वर्स आफ कमर्शका अध्यक्ष समेत रहेका घर्तीले उपमहानगरपालिकालाई कर तिर्ने व्यवसायीलाई कसरी चलायमान वनाउने भन्ने बारेमा सोच्न आवश्यक रहेको वताए ।

हाम्रो पहुँच सहकारीका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीका माध्यमबाट साना साना व्यापारीहरुका ऋण लगानी गर्न सकिने कुरामा जोड दिएका थिए । उनले सहकारीलाई प्रवद्र्धन गर्ने खालको नीति निर्माणमा उपमहानगरपालिकाले जोड दिनुपर्ने वताए । तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले सानासाना सहकारीको पैसा एकीकृत गरेर ठूला उद्योगको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने वताए । उपमहानगरपालिकाको नयाँ नीतिले व्यापारीका समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने उनको भनाँई थियो ।

कार्यक्रममा यातायात व्यवसायी प्रकाश भट्ट, व्यवसायी देववहादुर केसी,सन्तोष खड्का, चुर्णवहादुर वली लगायतले सुझाव दिएका थिए । कार्यक्रम अर्थ समितिका संयोजक माधव वलीको अध्यक्षतामा बसेको थियो ।

तपाईंको प्रतिक्रिया