एसईईको नतिजा साउनको दोस्रो साता, बोर्डले भन्यो २० गतेभित्र विवरण पठाउनू

 असार १२, २०७७

काठमाडौं, १२ असार ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो । मूल्याङ्कन गर्न बोर्डले कार्यविधि बनाइसकेको छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको मूल्याङ्कन विवरण छिटो आयो भने साउनको दोस्रो साता सार्वजनिक गर्ने बताए ।

साउनभित्रमा प्रमाणपत्र दिने उनको भनाई छ । अहिलेसम्म विद्यालयले मूल्याङ्कन विवरण नपठाएको अध्यक्ष पौडेलले बताए । जिल्ला विकास तथा समन्वय इकाइलाई यो महिनाभित्र र विद्यालयलाई असार २० गतेभित्र विवरण पठाउन भनेको उनले बताए । विद्यालयले जति छिटो पठाउँछन्, त्यति नै चाँडो नतिजा सार्वजनिक हुन्छ उनले भने ।

तपाईंको प्रतिक्रिया